गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटीबाट सडकबत्ती जडान

म्याग्दी | फागुन २, २०७९

गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटीबाट सडकबत्ती जडान

म्याग्दी:    म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।


गलेश्वर बजारको २ दशमलव ५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमवार ५५  सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिनुभयो ।


सडकबत्ती जडान गर्न कुल दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र गाडीमा आवतजावतका लागि सहज भएको छ।


‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ, अध्यक्ष रेग्मीले भन्नुभयो, ‘मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छौँ ।’ सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो ।


गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब  १० करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।


गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।


साउन महिनाको सोमवार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्